
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीवारदेखि पोखरामा शुरू गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले बीपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उनका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
समय र माग अनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उनले विगतको समिक्षाका आधारमा दीर्घकालिन योजनाका साथ क्रियाशील बन्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बीपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजबुत र क्रियाशील बनाएर जानुपर्ने बताए । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकतावद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरे ।