२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

ओमिक्रोन भेरियन्टले बढायो त्रास, सरकारले ९ देशका नागरिकलाई नेपालमा प्रतिबन्ध लगायो

मंसिर १७, २०७८
ओमिक्रोन भेरियन्टले बढायो त्रास, सरकारले ९ देशका नागरिकलाई नेपालमा प्रतिबन्ध लगायो

आज मिति २०७८ साल मंसिर महिनाको १७ गते शुक्रबार । नेपालमा कोरोनाको थप संक्रामक भेरियन्ट ओमिक्रोन प्रवेश गरिनसकेपनि यसको त्रास सुरु भएको छ । यो भेरियन्ट यसअघि पुष्टि भएको डेल्टा भन्दा ५ गुणाबढी संक्रामक भएको रिपोर्टहरुमा जनाइएको छ । आज हामी यही विषयलाई प्रमुख बनाएर बितेको २४ घण्टाको अवधिका मुख्यमुख्य घटनाक्रसमेतलाई समेटेर ‘लोकान्तर राउण्ड अप’ पस्किँदैछौँ ।

ओमिक्रोन नियन्त्रणमा सरकारी प्रयास

सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई गएराति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो । छिमेकी देश भारतमा समेत बिहीबार दुई जनामा यो भेरियन्ट पुष्टि भएको थियो । सरकारले भारतसँगको सीमा नाकाका कडाइ गर्नुका साथै यो भेरियन्टबाट बच्न नागरिक आफैँपनि सचेत हुनुपर्ने देखिन्छ ।

अन्य समाचार छोटकरीमाः

सर्वोच्च अदालतका न्यायाधीशहरूको बिहीबार बसेको बैठक कार्यवाहक प्रधानन्यायाधीश तोक्नेबारे कुनै पनि निर्णय नगरी सकियो । यसअघि बिहान नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिले न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशलाई कार्यवाहक तोक्न सुझाव दिएका थिए । यसैबीच सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । तर राणा यो आग्रह मान्न तयार नभएको बताइएको छ ।

००००

राप्रपाको नयाँ नेतृत्वका लागि आजदेखि चुनावी प्रक्रिया सुरु भएको छ । मतदान भने भोलि हुनेछ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

००००

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकले सम्मेलनको उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा गर्ने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

 माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना गरिने भएको छ । माओवादीले राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आमसभा भने नगर्ने भएको छ ।

००००

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सातै प्रदेशमा बिहीबारदेखि अधिवेशन सुरु भएको छ । अधिवेशनले प्रदेशमा काँग्रेसको नेतृत्व चयन हुनेछ । यसैबीच नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा नेपालको नक्साभित्र बीपी कोइरालादेखि सुशील कोइरालासम्मको तस्बिर राखिएको छ । यस्तै उत्साह, एकता र रुपान्तरणको आव्हानसहित पार्टीको चुनाव चिन्ह रुखलाई पनि समेटिएको छ । पोस्टर काँग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको हो । काँग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

००००

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंसिर २८ गते अधिवेशन आह्वान गरिएको हो ।

००००

छिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ११ हजार ४०३ जनामा परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

००००

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा बिहीवार ४९.०४ अंकले गिरावट आई २ हजार ५८४.६१ मा ओर्लेको छ ।

salt training

कमेन्ट गर्नुहोस्