
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।
शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन उपसमिति बनाउने निर्णय गरेको हो ।
उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन् । उक्त उपसमितिले मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रूपैयाँ तोकेको पनि जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताए ।
बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।
‘खास गरेर केन्द्रीय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौँ, त्यसलाई प्रस्तावकै रुपमा कायम राख्दै अन्य थप केन्द्रीय प्रतिनिधिहरू पठाउने ठाउँहरू धेरै छन्, उनीहरू सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ,’ उनले भने, ‘प्रतिनिधिहरू छान्ने विषयमा पनि छलफल भएको छ । राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको संख्याको आधारमा कुन प्रदेशले कति गर्यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ ।’