
संघीय संसद्को प्रमुख दल नेकपा एमालेले मुलुकको राजनीतिक निकासको एकमात्र विकल्प प्रतिनिधि सभाको चुनाव भएको बताएको छ । ताजा जनादेशबाट मात्र समस्याको समाधान निस्कने एमालेको निष्कर्ष छ ।
काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको समय बर्बाद हुन नदिन पनि अब मुलुक ताजा जनादेशमा जानुपर्ने पार्टीको धारणा सुनाएका हुन् ।
चुनावले मात्र निकास दिने भन्दै ओलीले प्रधानमन्त्री रहेको समयमा गत वर्ष पुस ५ गते र यसै वर्षको जेठ ८ मा प्रतिनिधि सभा विघटन गरेका थिए ।
मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए ।
‘निष्पक्ष ढंगले चल्ने खालको सरकारका निम्ति निर्वाचन जरुरी छ । अब ताजा जनादेशमा जानु पर्छ । ताजा जनादेशबाट समस्याको समाधान निस्किन्छ,’ ओलीले भने, ‘जनताले सबै कुराको मूल्यांकन गरेका छन्, मूल्यांकनका आधारमा उपयुक्त फैसला गर्नेछन् । जनतामा जान डराएर कृत्रिम ढंगले सत्ता चलाउने कुरा हुन सक्दैन ।’
सरकार सञ्चालनमा गठबन्धन असफल भइसकेको ओलीले दाबी गरे ।
‘राष्ट्रिय राजनीति जसरी अन्यौलग्रस्त भएको अवस्था छ, यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने क्रममा लाग्छौं हामीहरू । देश अहिले वर्तमान गठबन्धनको सरकार छ, यसबाट देश चलिरहेको छैन । सबैले अनुभूत गरेको कुरा हो, भन्ने नभन्ने बेग्लै कुरा हो । सरकार चलिरहेको छैन, यस्तोलाई चलेको भन्ने हो भने नचलेको केलाई भन्ने ?’ ओलीले भने, ‘यसप्रकारको गतिहीनता मुलुकले लामो समय भोग्न सक्दैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ । देशको समय बर्बाद गर्नु हुँदैन ।’
संसद् चल्न नदिने संकेत
सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता समेत रहेका ओलीले मंसिर २८ गतेदेखि शुरू हुने संसदको हिउँदे अधिवेशन चल्न नदिने संकेत गरे ।
पार्टीले निस्कासन गरेका सांसद सहभागी गराएर संसद् बैठक चल्न नसक्ने उनले बताए ।
‘संसद् किन बोलाइएको थाहा छैन, तर निष्काशित व्यक्तिलाई संसद्भित्र राखेर संसद् कसरी चल्न सक्छ ? नियमले गैरसांसदलाई बस्न दिँदैन । २८ गतेको संसद् बैठकमा उनीहरू आउँछन् भने बैठक चल्न सक्दैन,’ ओलीले भने ।
माधव नेपाललगायत १४ सांसदलाई निष्काशन गर्ने निर्णय सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले लामो समय संसद् अवरुद्ध गरेको थियो ।
एमालेले भदौ २४ गते शुरू गरेर कात्तिक १२ गते सकिएको संसद्को अधिवेशनभर अवरोध गरेको थियो ।
ओलीले सभामुख अग्नि सापकोटाले एमालेका विरुद्ध सत्ता पक्षसँग लागेर अपवित्र गठबन्धन गरेर एमाले फुटाउन लागेको आरोप लगाए ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले मंसिर २८ गतेको लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी छिन् ।