२२ जेठ २०८३, शुक्रबार

बाफल घटना : जलेर मृत्यु भएको भनिएका व्यक्ति जीवित भेटिएपछि खुल्यो पोल

मंसिर १७, २०७८
बाफल घटना : जलेर मृत्यु भएको भनिएका व्यक्ति जीवित भेटिएपछि खुल्यो पोल

मंसिर ७ गते खेमराज अधिकारी भन्ने व्यक्तिले काठमाडौं महानगरपालिका–१३ बाफल गाईबाच्छापाटीमा आफ्नो साथीको हत्या भएको भन्दै प्रहरीलाई खबर गरे । सोही खबरअनुसार पुगेको प्रहरीले घटनास्थलमा शव जलेको अवस्थामा फेला पार्‍यो । शरीर पूरै जलेकाले कसको शव हो भन्ने कसैले ठम्याउन सकेनन् । 

खेमराजले भने आफ्नो साथी ताहाचलका सुशील शर्मा (३३) त्यहाँ बस्ने भएकाले उनलाई कसैले जलाएको हुन सक्ने भनेर प्रहरीमा खबर गरेका थिए । 

प्रहरीले खेमराजलाई त्यो दिन सोधपुछ गर्‍यो । अर्को दिन फेरि प्रहरीले अनुसन्धानका लागि उनलाई घटनास्थल लगेर गयो । 

तर, त्यहाँ पुग्दा भने मृतक भनिएका सुशील सकुशल नै भेटिए । सुशीलकै शव भनेर अनुसन्धान गरेको प्रहरीलाई अब त्यो शव कसको भन्ने पत्ता लगाउन झन् हम्मे पर्‍यो । 

प्रहरीले सुशीललाई पनि नियन्त्रणमा लियो । तर, उनले आफूलाई केही थाहा नभएको बताए । 

प्रहरीले घटनास्थलबाट मृतकको चप्पल, जलेको कपडा, लौरो र टोपी फेला पारेको थियो । त्यसैका आधार उनको सनाखत गर्ने प्रयास गरिरहेको थियो । तर, पनि प्रहरीले मृतक को हुन् भन्ने पत्ता लगाउन सकेको थिएन । 

अनुसन्धानकै क्रममा प्रहरीले ती मानिसले वृद्ध भत्ता खाँदै आएको र सडक माग्दै गुजारा चलाउँदै आएको भन्ने पत्ता लगाउँछ । त्यसपछि प्रहरीले औंठा छापका आधारमा काठमाडौंका स्थानीय तहहरूमा खोजी गर्‍यो । त्यहाँ पनि नभेटिएपछि प्रहरी काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहमा खोजी गर्दा तिमाल गाउँपालिका–८ घर भई बाफल बस्ने टोपबहादुर भन्ने ७६ वर्षीय हर्कबहादुर बानियाको भएको भन्ने प्रहरीले पत्ता लगायो । 

यता प्रहरीले हत्याका दोषी को हुन सक्छ भनेर पनि अनुसन्धान गरिरहेको थियो । त्यही क्रममा ती वृद्धसँग सुशील प्रायः बस्दै आएको भन्ने प्रहरीले पत्ता लगाइसकेको थियो । 

रक्सीको तालमा हत्या !

हर्कबहादुर र सुशील बेलुका सधैँसँगै बसेर रक्सी खाने गरेका थिए । त्यो दिन पनि दुवैजना रक्सी आएर हर्कबहादुरको कोठामा पुगे । 

सुशीलले प्रहरीलाई बताएअनुसार रक्सी खाएपछि हर्कले सुशीललाई मुख छाडेर गाली गर्ने गरेका थिए । 

दुवै जनाबीच मंसिर ७ गते बेलुका झगडा भयो । हात हालाहाल हुँदा हर्कलाई सुशीलले भित्तामा ठोक्काए । त्यसपछि उनी बेहोस भएर लडे  । 

‘छाम्दा चिसो भएको र हर्कको मृत्यु भएको भन्ने लागेपछि सुशीलले चुरोट सल्काएर खाए,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरलाई भने, ‘त्यसपछि हर्कको जलाएर हत्या गरियो ।’ 

त्यसपछि सुशील त्यहाँबाट भागेर साथीको कोठामा बस्दै आएका थिए । उनलाई हत्या भएको तेस्रो दिन पक्राउ गरेर अनुसन्धान गरिरहेको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रहरीका अनुसार सुशीलले आफूले रक्सीको तालमा हत्या गरेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्