३१ जेठ २०८३, आइतबार

सौताको छोरालाई विष खुवाएर हत्या

मंसिर १७, २०७८
सौताको छोरालाई विष खुवाएर हत्या

आफ्नै सौताका १० वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको आरोपमा एक महिलालाई कैलाली प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ घर भई हाल कैलाली धनगढी उपमहानगरपालिका-२ मालिका टोलस्थित रोहिणीप्रसाद जोशीको घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको हो । रोकायाले आफ्नी सौता निर्मला थापामगरका छोरा निशान्त थापामगरलाई विषादी खुवाई हत्या गरेको प्रहरीले जनाएको छ । 

धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने निशान्तलाई उनले मंसिर २ गते विष खुवाई आफ्ना २ बच्चासहित सम्पर्कविहीन बनेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मागीका श्रीमान बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले बुझ्नलाई डेरा गरी बस्ने कोठामा पठाएका थिए । 

डेरा कोठा पुग्दा कोठाको अगाडिको मूल ढोका बन्द भई पछाडिपट्टिको ढोका खुल्ला रहेको, कोठाभित्र पंखा चालू अवस्थामा रहेको, कोठाभित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको र अन्य मानिसहरू उक्त डेरा कोठामा कोही नभएको भनी उनीहरूका आफन्तबाट प्रहरी कार्यालयमा जानकारी प्राप्त भएको बताइएको छ । 

प्रहरीले तत्काल घटनास्थलमा सो डेरा कोठाभित्र हेर्दा मागी रोकायासँगै बस्ने गरेका निशान्त मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक जोशीले जनाए । प्रहरीले तत्काल भारतीय प्रहरीको सहयोगमा खोजी कार्य थालेको थियो ।

उनलाई मंसिर १६ गते भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याइएको प्रहरीले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मागीका श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहेको र करीव ३ वर्ष अघिदेखि निशान्त थापामगरकी आमा निर्मला थापामगरसँग भारत मै विवाह गरी सँगै बस्दै आएका थिए ।

करीब ३ वर्षअघि नै मागी १४ वर्षकी छोरी र ८ वर्षको छोरालाई पढाउन धनगढीमा बस्दै आएकी थिइन् । बहादुर रोकायाले निर्मलालाई विवाह गरिसकेपछि छोरा निशान्तलाई पढाउन धनगढीस्थित हिमालय एकेडमीमा बोर्डस राखेका थिए । करीब २ वर्ष अघिदेखि निशान्तलाई मागी रोकाया र उनका छोराछोरीसँगै राखिएको थियो ।

मागी र उनका श्रीमानबीच वादविवादका कारण निशान्तले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।

घटनाअघिसमेत फोन संवाद हुँदा श्रीमान-श्रीमतीबीच वादविवाद र झैझगडा भएको र रिसको झोंकमा मागीले कात्तिक २९ गते मृतक निशान्त स्कुलबाट फर्किएपछि थाहा नपाउने गरी दूधमा मुसा मार्ने औषधि मिसाई खुवाएको प्रहरीले जनाएको छ । 

मागीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्