
लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् ।
गोदामचौरस्थित आफैंले निर्माण गरेको हनुमान मन्दिरबाट २२५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमवारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि दौड शुरू हुनेछ ।
पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने छ । दोस्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुनेछ भने तेस्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुनेछ ।
दौड एकतर्फी मात्र हुनेछ । कार्की तेस्रोपटक गोदामचौरदेखि जनकपुरसम्म दौड्न लागेका हुन् ।
कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेको बताउँदै यसपटकको दौडको उद्देश्य आफैंले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए ।
यसअघि कार्की दौडेर नेपालको सबै जिल्ला पुगिसकेका छन् । त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं–सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी दिए ।
साथै काठमाडौंदेखि मित्रराष्ट्र भारतको उत्तरप्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न घरेल प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।
कार्कीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य अर्जुनबहादुर केसी, राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीलगायतले शुक्रवार एक कार्यक्रमबीच बिदाइ गरे ।