३० जेठ २०८३, शनिबार

काष्ठमण्डप पुनर्निर्माणको काम पूरा, अब उद्घाटन गरिने

मंसिर १७, २०७८
काष्ठमण्डप पुनर्निर्माणको काम पूरा, अब उद्घाटन गरिने

ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य पूरा भएको छ । 

शुक्रवार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो ।

विक्रम संवत् २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यसपटक देशका विभिन्न स्थानहरूबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले बताए ।

अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उनले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाँचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौं शताब्दीमा निर्माण गरिएको बताए ।

अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताए ।

अध्यक्ष शाक्यले भने, ‘काष्ठमण्डपको सबै काम सकिएको छ, यसको पुनर्निर्माण भइसकेको छ, यसको अब पहिलाको बार मात्रै राख्न बाँकी छ, काष्ठमण्डप सबै जनमानसको पनि चासोको विषय हो । उद्घाटनतिर लाग्ने कुरा पनि आइरहेको छ, अब हामी यसको उद्घाटको पनि तिथिमिति तोक्नेछौं । हामीले यसको निर्माण गर्दा समुदायसँग मिलेर आज काष्ठमण्डप सातौं शदाब्दीको प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकोले सबल छ, नेपालको प्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो । चीन, कोरिया, जापानले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने कुराको विकास भएको छ । बनाएर देखाएको छ, अब नेपालीहरुलाई बनाउन अवसर आउनेछन् भन्ने सोचेको छु ।’

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुंगा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताए । उनले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताए । चालू आर्थिक वर्ष ०७७/०७८ मा यस वर्ष काष्ठमण्डप पुनर्निर्माणमा ३ करोड ५६ लाख ६१ हजार १२४ रुपैयाँ ६० पैसा आम्दानी भएको छ भने गत वर्ष ३ करोड ५२ लाख १ हजार ३७ रुपैयाँ ६४ पैसा अनुदान प्राप्त भएको थियो । 

खर्चमा भने प्रशासनिक खर्चतर्फ यस वर्ष १ लाख ३ हजार ९६७ रुपैयाँ ०७ पैसा र गत वर्ष १५ लाख ४ हजार ४९ रुपैयाँ २१ पैसा खर्च भएको थियो । निर्माण खर्च यस वर्ष ३ करोड ३७ लाख ७७ हजार १५७ रुपैयाँ ५३ पैसा खर्च भएको छ भने गत वर्ष ३ करोड ३७ लाख ३२ हजार १८ रुपैयाँ ४३ पैसा खर्च भएको थियो । जम्मा खर्च गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा र यस वर्ष ३ करोड ५६ लाख ६१ हजार १२४ रुपैयाँ ६० पैसा खर्च भएको समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करीब ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्