
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी नेतृत्व चयनका लागि आज शनिवार मतदान हुँदैछ ।
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित ३ उपाध्यक्ष र ३ जना महामन्त्रीसहित १४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको हो । १९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनित हुन्छन् ।
राप्रपाले जारी महाधिवेशनबाटै ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी संशोधित विधान अनुमोदन गरेको हो ।
राप्रपाको जारी महाधिवेशनबाट भइरहेको नेतृत्व चयनको प्रक्रियालाई राजनीतिक वृत्तबाट चासोका साथ हेरिएको छ । बुधवार शुरू राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्ने गरी प्रक्रिया अघि बढेको हो ।
थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार छन् तर थापाले उपाध्यक्ष राखेका विक्रम पाण्डे भने लिङ्देनतर्फ खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारमा उभिएका छन् ।
थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । ३ सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार छन् ।
लिङ्देनले पनि उपाध्यक्षमा पाण्डेलाई राखेका छन् । उनी लिङ्देनतर्फ खुलेपछि थापालाई त्यसको असर पर्ने देखिन्छ । लिङ्देन तर्फबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ मैदानमा छन् ।
लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन् ।
राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकोमा यसपटकबाट भने अध्यक्षसहित ३ उपाध्यक्ष र ३ जना महामन्त्रीसहित १४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको छ ।
राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ताहरू, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र १ जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।
निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी सय जना भने पुरुष हुनेछन् ।
राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (१ महिला १ पुरुष) मुस्लिम ३ जना (२ पुरुष १ महिला), थारु २ जना (१ पुरुष १ महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् ।
लामो समय कमल थापासँगै रहेर काम गर्दै आएका नेता मोहन श्रेष्ठले पनि उनको साथ छाडेका छन् । उनी जारी महाधिवेशनमा लिङ्देन समूहबाटै खुला केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । थापाको नेतृत्वमा रहेको राप्रपा नेपालदेखि नै उनी प्रचार विभाग प्रमुखका रूपमा काम गर्दै आएका थिए भने हाल पनि उनी सो जिम्मेवारीमा छन् ।
राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष मध्येका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् ।
लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई यसअघि नै पत्रकार सम्मेलनमार्फत नै आग्रह गरेका थिए । उनले लिङ्देनलाई सघाउन गरेको आग्रह थापाले नटेरेपछि राप्रपा चुनावी प्रक्रियामा अघि बढेको छ ।
‘अब नयाँ नेतृत्वलाई काम गर्न मौका दिऊँ, म अध्यक्षद्वय कमल थापा र पशुपतिशमशेर जबरालाई नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन पनि आग्रह गर्छु,’ लोहनीले भनेका छन् ।
लोहनीनिकट नेता जनकराज पाठकले लोहनी समूहमा रहेका सबै नेताहरू लिङ्देनको पक्षमा स्पष्ट रूपमा मैदानमा रहेको जानकारी दिए । उनीसमेत लिङ्देनकै समूहबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार छन् ।
राप्रपाका ३ अध्यक्षमध्येका एक अध्यक्ष पशुपतिशमशेर जबरा भने जारी नेतृत्व चयनको प्रक्रियामा कसलाई सघाउने भन्नेमा स्पष्ट खुलेका छैनन् तर उनीनिकट रहेर काम गरेका राप्रपाका नेताहरू भने लिङ्देनका पक्षमा खुलेका मात्रै छैनन्, सो समूहबाट उम्मेदवार नै बनेका छन् ।
जबरानिकट रहेका नेता विक्रम पाण्डे नै लिङ्देनको समूहबाट उपाध्यक्षको उम्मेदवार बनेर उनीसँग मत माग्दै प्रचारमा हिँडेका छन् ।
‘जबरा अध्यक्षज्यू अहिलेसम्म स्पष्ट खुल्नुभएको छैन, उहाँको मनको कुरा हामीले जान्ने अवस्था पनि छैन तर हामी लिङ्देनतिरै खुलेका छौं,’ जबरानिकट एक नेताले भने ।
जबरासँगै रहेर काम गरेका नेता राजेन्द्र गुरुङ समेत लिङ्देनतर्फ नै खुलेका छन् । उनले जबराले नेतृत्व गरेको तत्कालीन दल राप्रपा प्रजातान्त्रिकमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । उनी अहिले केन्द्रीय सदस्य पदमा उठ्दै छन् ।
राप्रपाको जारी महाधिवेशनमा अध्यक्ष चुन्नका लागि कागजी मतपत्र नै प्रयोग गरिने भएको छ । अध्यक्ष बाहेकका अन्य पदमा भने राप्रपाले विद्युतीय मतदान गर्ने गरी व्यवस्था मिलाएको छ ।
राप्रपा नेता राजेन्द्र गुरुङका अनुसार अध्यक्ष बाहेकका पदाधिकारी र सदस्य चुन्नका लागि भने ९२ वटा विद्युतीय मशिनको प्रयोग गरिने भएको छ ।
निर्वाचन समितिका सदस्य झनक प्याकुरेलका अनुसार अध्यक्ष पदका लागि परम्परागत प्रणाली (कागजी मत) प्रयोग हुनेछ । २ भन्दा बढी पद निर्वाचन भने ईभीएम (इलेक्ट्रिक मशिन) प्रयोग गरिने उनले बताएका हुन् ।
राप्रपा निर्वाचन समितिले शुक्रवार नै विद्युतीय मतदान मशिनबाट मतदान गर्ने तरिकाबारे मतदातालाई प्रशिक्षण समेत गरेको छ । राजधानीमा खबर छ ।