इलाम, १६ पुस - पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संविधान कार्यान्वयन गर्न तीनवटा तहकै निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।

एकचालिसौँ मेलमिलाप दिवसका अवसरमा आज पूर्वी इलामको फिक्कलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता महतले स्थानीय तह पुनःसंरचना आयोगले पुनःसंरचनाको खाका सरकारलाई बुझाउन नसके पुरानै संरचनामा निर्वाचन हुने पनि दाबी गर्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजना एवम् महिला सङ्घ क्षेत्रीय कार्यसमितिको संयोजनमा भएको अन्तक्र्रियामा नेता महतले नेकपा (एमाले)ले संसद् अवरोध गरेर देशलाई अनिर्णयको बन्दीतर्फ धकेलिरहेको आरोप लगाउनुभयो ।
उहाँले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि प्रजातान्त्रिक ढङ्गबाट अघि बढ्नुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो ।
नेता महतले देशलाई समस्या पर्दा त्यसको समाधान काँग्रेसले नै गर्ने गरेको उल्लेख गर्दै काँग्रेसको नेतृत्व बिना देशमा विकास हुन नसक्ने जिकिरसमेत गर्नुभयो । जननायक बिपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक उल्लेख गर्नुभयो ।
क्षेत्रीय सभापति दुर्गा बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति हिमालय कर्माचार्य, महासमिति सदस्यहरू तोयानाथ भट्टराई, भेषराज आचार्य, विष्णु दाहाल, टीकाराम लेप्चा, केदार थापालगायतले दलहरूबीच बढ्दै गइरहेको राजनीतिक गतिरोध समाधानका लागि सबैले आ–आफ्नो अडानबाट केही लचिलो हुन आग्रहसमेत गर्नुभयो ।