
काठमाडौं, १२ असार — शुक्रवार रिलिज भएको सलमान खान अभिनित फिल्म ट्युबलाइटले बक्स अफिसमा सुस्त शुरुवात गरेको छ ।

पहिलो दुई दिनमा जम्मा ४२.३२ करोड भारुको व्यापार गर्न सफल यस फिल्मको कारोबार आइतवार बढ्ने अपेक्षा थियो तर त्यसो हुन सकेन ।
तेस्रो दिन अर्थात् आइतवार यसको कारोबार जम्मा १० प्रतिशत बढ्यो र २३.३५ करोड भारुको व्यापार गर्न सफल भयो । यसरी ट्युबलाइटले तीन दिनमा जम्मा ६५ करोड ६७ लाखको कारोबार गर्न सफल भयो ।
सलमान खानका पछिल्ला फिल्महरूको कमाइका तुलनामा यो एकदमै कम कमाइ हो ।
यो वर्ष आएको बम्पर हिट बाहुबली २ को हिन्दी संस्करणले नै तीन दिनमा १२८ करोड भारुको कारोबार गर्न सफल भएको थियो ।
प्रदर्शनपूर्व फिल्मले सप्ताहान्तमा १०० करोड भारुभन्दा बढीको व्यापार गर्छ भन्ने दाबी गरिएको थियो । फिल्म आवश्यकताभन्दा लामो र बोरिङ भएको अधिकांश दर्शकको प्रतिक्रिया छ ।
सलमान खानले फिल्ममा पटक्कै एक्सन नदेखाएकोलाई दर्शकले चित्त नबुझाएको देखिन्छ । अनि बजरंगी भाइजानको जस्तो छविलाई फिल्ममा दोहो–याउन खोजिएको तर ट्रीटमेन्ट झुर भएकोले पनि फिल्म चल्न नसकेको बताइएको छ ।
एजेन्सी