
दलहरूका महाधिवेशन र राष्ट्रिय सम्मेलनको रौनक देशभर छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सकिएको छ भने कांग्रेस महाधिवेशन र माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदैछ ।
कांग्रेस केही जिल्लालाई थाति राखेर प्रदेश अधिवेशनमा छ । वडा, स्थानीय तह तथा अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।
प्रमुख दलहरूको महाधिवेशनले समाजका विभिन्न पेशा र वर्गका मानिसलाई प्रभावित पारेको छ । सरकारी जागिरे पनि चुनावी माध्यमबाट नै राजनीतिमा सक्रिय बनिरहेका छन् ।
यसको एक उदाहरण हो, भोजपुरको विद्योदय माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद गौतम । उनले कांग्रेसको प्रदेश प्रतिनिधिमा चुनाव जितेका छन् ।
गौतमले उक्त विद्यालयमा कक्षा ११/१२ मा ग्रामिण विकास र म्यानेजमेन्ट विषय पढाउने गर्छन् । उनी प्रदेश सभाको चुनावमा विद्यालय नै छाडेर उनी विराटनगर आए ।
केही दिनका लागि विद्यालयमा बिदा लिएको उनले बताए । प्रतिनिधि मात्रै भएकाले विद्यालयको पठनपाठनमा असर नगर्ने उनको भनाइ छ । निर्वाचन आयोगले सरकारी जागिरेलाई राजनीति नगर्न भने पनि उनले त्यसलाई बेवास्ता गर्दै राजनीति गरिरहेका छन् ।
शिक्षक मात्र होइन, विद्यार्थीहरू पनि दलीय राजनीतिमा सक्रिय छन् ।
अखिल क्रान्तिकारी ओखलढुंगाकी उपाध्यक्ष अनुसा लुइँटेल माओवादी चम्पादेवी गाउँ कमिटी उपाध्यक्ष बनेकी छन् । पढाइसँगै आफू राजनीतिमा होमिएको उनले बताइन् ।
‘पहाडका गाँउघरमा अझै पनि छोरीले खुला भएर हिँड्नुहुँदैन भन्ने छ । त्यस्ता अन्धविश्वास र कुरीतिलाई अन्त्य गर्नका लागि राजनीति आएको हुँ,’ उनले भनिन् ।
उनी पशुपति क्याम्पस काठमाडौंमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि धनकुटाबाट महाधिवेशन प्रतिनिधिमा २१ वर्षीया करुणा कटुवाल विजयी भइन् । पार्टीमा पुस्तान्तरण र शुद्धीकरणलाई जोड दिँदै आफू राजनीतिमा आएको उनले बताइन् ।
पार्टीमा नीति भन्दा नेता मान्ने प्रवृत्तिका कारण गुट मौलाएको उनको बुझाइ छ । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाइ समिति सभापति समेत रहेकी कटुवाल यतिबेला निकै चर्चामा छिन् ।
विद्यार्थी भन्दा शिक्षकहरूको राजनीतिक सहभागितालाई लिएर विरोध भइरहेको छ ।
विद्यार्थीको भविष्य नै अन्योलमा पारेर शिक्षकले राजनीति गरिरहेका छन् ।
कसैको उजुरी नपरेका कारण कारवाही गर्न नसकिएको प्रदेश निर्वाचन कार्यालय प्रदेश १ का प्रमुख लेवन काश्यप अधिकारीले बताए ।