
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापाले सोसल मिडियामार्फत गुनासो पोखिरहेका छन ।
मत गणनामा अध्यक्षमा पराजित भएको संकेत पाएपछि आइतबार विहानै ट्वीट लेख्दै थापाले पूर्व राजा ज्ञानेन्द्र शाहमाथि हमला गरेका थिए । राप्रपाको अधिवेशनमा निर्मल निवास हावी भएको उनको आरोप थियो ।
देश गणतन्त्रमय भएको अवस्थामा टाउको कफन बाँधेर राजतन्त्रको पक्षमा लाग्दाको परिणाम स्वरूप आफूलाई अध्यक्षमा हराइएको उनले बताएका थिए ।
दिउँसो फेरि ट्वीट लेखेर उनले पूर्व युवराज्ञी हिमानी शाहमाथि हमला गरे । शाहले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएकी थिइन । त्यसपछि, थापाले राजसंस्था पुनस्थापना हुने भएको भन्दै हिमानीलाई कटाक्ष गरेका थिए ।
थापा त्यतिमै रोकिएका छैनन् । आजै फेरि उनले तेस्रोपटक ट्वीटरमा कवि राजेन्द्र थापाको गीतलाई उल्लेख गरेका छन ।
‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भिर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो’, थापाले लेखेका छन, ‘पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले, त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले, यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’