
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा ५८ मत गन्न बाँकी रहदै १०१ मतले अगाडि हुँदा अमरसिंह पुन विजयी भएका हुन्। घोषणा हुन भने बाँकी छ ।
निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार ५८ मत गन्न बाँकी रहदा अमरसिंह पुनले ८३१ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी भरतकुमार शाहले ७३० मत प्राप्त गरेका छन्।
प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो ।
निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेतामा पर्छन् ।
संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलोपटक प्रदेश सभापति चुन्न लागेको हो । लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ ।
प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ ।