३२ असार २०८३, बिहीबार

न्युजील्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत विजयी

मंसिर २०, २०७८
न्युजील्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत विजयी

न्युजील्यान्डविरुद्धको दोस्रो टेस्ट ३२७ रनले जितेर भारतले दुई टेस्टको शृंखला हात पारेको छ ।

मुम्बईको वान्खेडे स्टेडियममा सोमवार चौथो दिनमै भारतले विशाल जीत हात पारेको हो । 

अन्तिम इनिङमा न्युजील्यान्ड १६७ रनमा सीमित भएपछि भारत विजयी भएको हो ।

भारतको जीतका लागि आरम्भिक ब्याट्स्म्यान मयंक अग्रवालको ठूलो योगदान रह्यो । उनले पहिलो इनिङमा शानदार १५० र दोस्रो इनिङमा ६२ रन बनाए । 

तर न्युजील्यान्डले हारे पनि यस टेस्टमा न्युजील्यान्डका बलर एजाज पटेलको बलिङ इतिहासको पन्नामा दर्ज भएको छ । 

पटेलले भारतविरुद्ध पहिलो इनिङमा ४७.५ ओभरमा ११९ रन खर्चेर सबै १० विकेट लिए । टेस्टमा यस्तो उपलब्धि हासिल गर्ने उनी तेस्रा बलर हुन् ।

तर पटेलको यस ऐतिहासिक उपलब्धिलाई न्युजील्यान्डका ब्याट्स्म्यानले साथ नदिँदा टीम लज्जास्पद पराजय बेहोर्न बाध्य भयो । 

पहिलो इनिङमा न्युजील्यान्ड जम्मा ६२ रनको स्कोरमा समेटिएको थियो । उसका लागि जेमीसनले सर्वाधिक १७ रन बनाए । न्युजील्यान्डका तीनजना ब्याट्स्म्यानले खाता समेत खोल्न सकेनन् भने नौजनाले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका लागि रविचन्द्रन अश्विनले सर्वाधिक चार विकेट लिए ।

न्युजील्यान्डविरुद्ध पहिलो इनिङमा ३२५ रन बनाएर उसलाई ६२ रनमै सीमित राखे पनि भारतले फलोअन गराएन । आफैं ब्याटिङ गर्दै भारतले सात विकेटमा २७६ रन बनाएर इनिङ डिक्लेयर गरिदियो । 

जीतका लागि लगभग असम्भव ५४० रन पछ्याएको न्युजील्यान्डले चौथो इनिङमा पनि फितलो प्रदर्शन गर्दै जम्मा १६७ रन बनाएर सबै विकेट गुमायो । भारतका लागि अश्विन र जयन्त यादवले समान चार विकेट लिए । 

यी दुई टीमबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो । 

राहुल द्रविडको प्रशिक्षणमा भारतले पहिलोपटकमै टुर्नामेन्ट जीत हासिल गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्