१२ साउन २०८३, मंगलबार
कांग्रेस अधिवेशन

तीन कारण: जसले प्रदेश सभापतिमा गुरुराज घिमिरे पराजित भए

घिमिरे भन्छन्- प्रदेशको चुनावले केन्द्रीय महाधिवेशनमा असर गर्दैन
मंसिर २०, २०७८
तीन कारण: जसले प्रदेश सभापतिमा गुरुराज घिमिरे पराजित भए

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समितिको सभापतिमा गुरुराज घिमिरे झिनो मतान्तरले पराजित भए । जितका लागि संस्थापन इतरसँग एक सय भन्दा बढी मत रहे पनि घिमिरेले हार व्यहोर्नु पर्‍यो । एकजना व्यक्तिका पछाडि सरकार लागेका कारण आफूले हार व्यहोरेको घिमिरेले प्रतिक्रिया जनाएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै घिमिरेले एउटा व्यक्तिलाई चुनाव हराउन केन्द्रदेखि नेताहरू पठाएर घेराबन्दी गरिएको आरोप लगाए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रदेश अधिवेशनलाई लक्षित गरेर सशस्त्र प्रहरी बल पूर्वी मुख्यालय इटहरीमा आएर विभिन्न चलखेल गरेको संस्थापन इतर समूहका एक नेताले बताए । 

प्रदेश सभापतिमा पराजित भए पनि केन्द्रीय महाधिवेशनमा असर नपार्ने घिमिरेले बताए । घिमिरेले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्ने बताउँदै आएका छन् । 

नैतिकताका आधारमा आफू केन्द्रीय महाधिवेशनमा नउठ्ने उनले उल्लेख गरे । पुनः मतगणना हुँदा जित्ने आधार भएको घिमिरेको भनाइ छ । ‘१५० मत गन्दा मात्रै २ मत फरक भनिएकोले शंका उत्पन्न भएको छ,’ उनले भनेका छन् । 

शुरूआती चरणमा अग्रता लिएका घिमिरेले अन्तिममा २ मतले पराजित भएका थिए । मत परिणाम चित्त नबुझेको भन्दै उनले पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गरेका छन् ।

आफ्नै लाइनका केन्द्रीय तहका नेताले मतदान नगरेको, संस्थापन इतरले उमेदवारहरुलाई मिलाएर लैजान नसकेका कारणले समेत चुनावमा हार व्यहोर्नु परेको जस्ता कुरा उठेका छन् । 

घिमिरे पराजयका तीन कारण

नेपाल विद्यार्थी संघको अध्यक्ष रहेको समयमा गणतन्त्रको नारा लगाएर चर्चामा आएका घिमिरे केन्द्रमै स्थापित नेता हुन् । १४ औं महाधिवेशनमा सहमहामन्त्रीका दाबेदारको रुपमा हेरिएका घिमिरे संस्थापन इतर समूह (रामचन्द्र पौडेल र डा. शेखर कोइराला)को आग्रहमा प्रदेश सभापतिको उम्मेदवार बनेका थिए । घिमिरे प्रदेश सभापति बन्दा प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउन सकिने पौडेल कोइरालाको निष्कर्ष थियो । 

आइतवार बिहान अन्तिम नतिजा आउन्जेलसम्म पनि गुरुले जित्नेमा कांग्रेसका प्रायः नेता ढुक्क जस्तै देखिन्थे । शनिवार भएको मतदानमा घिमिरेले ८४२ ल्याउँदा उद्धव थापाले ८४४ मत पाएर विजयी भए । थापा २ मतले विजयी भएको घोषणा निर्वाचन समितिले बिहान साढे ३ बजे गरेको थियो । 

झिनो मत अन्तरले घिमिरेले पराजय भोगेपछि प्रदेश १ को विषयलाई लिएर कांग्रेसभित्र चर्चासमेत चलेको छ । घिमिरले हार व्यहोर्नुको मुख्य तीन कारण रहेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् । 

केही केन्द्रीय नेताहरूले मतदान नगर्नु पहिलो कारण भएको कांग्रेसका एक नेताको भनाइ छ । पार्टीको विधानमा रहेको ‘कन्फ्युजन’का कारण गुरुराजलाई जिताउन विराटनगरमा खटिएका नेताहरूले नै मतदान गरेनन् । मतदान नगर्ने नेताहरूले यसबारे आफ्नो धारणा राखिसकेका छन्, यो प्राविधिक विषय भयो । 

प्रदेश १ सभामा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले खुलेर घिमेरलाई सहयोग नगर्नु अर्को कारण रहेको मोरङ कांग्रेसका एक नेताले लोकान्तरलाई बताए । कोइराला आफैं प्रदेश सभापतिका आकांक्षी थिए । यस्तै प्रदेश १ कै आन्तरिक मामिला तथा कानूूनमन्त्री केदार कार्की मौन बस्नुले पनि घिमिरेको पराजयको कारण बनेको स्थानीय नेताहरूको बुझाइ छ । 

यसै गरी मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई मिलाउन नसक्दा घिमिरेले पराजय भोग्नु परेको स्थानीय नेताहरूको विश्लेषण छ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बु र फागोबीचको अन्तरसंघर्षका कारण समेत घिमिरेले पराजय भोग्नु परेको विश्लेषण गरिएको छ । 

कृष्णप्रसाद सिटौला समूहका फागो जिल्ला अधिवेशनका बेला इतर समूहका नजिक थिए । उनलाई प्रदेशमा स्थान दिने आश्वासन दिइएको थियो । तर, संस्थापनइतर समूहले उनलाई टिकट नदिएपछि उनी पुनः सिटौला समूहमै फर्केका थिए । 

आदिवासी जनजाति समुदायका फागोले संस्थापनइतर समूहका भोट समेत बिगारेका थिए । उनले सर्वाधिक मत एक हजार २६ ल्याएका थिए । 

प्रदेश सभापतिमा पराजित घिमिरेले पराजयको कारण खोजेर प्रदेशकै राजनीतिमा सक्रिय हुने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्