
नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ ।
बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल रहेको बताउँदै छाडिदिन आग्रह गरेका थिए । यद्यपि अरु नेताको नाममा सहमति बनेपनि आफूलाई छाड्न कुनै आपत्ति नभएको उनको भनाइ थियो ।
बैठकमा शशांकको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सबभन्दा राम्रो मेरो छ, तर तपाईंहरु सहमति गर्नुहुन्छ भने म छाड्न तयार छु ।’ आजको बैठकमा साझा उम्मेदवारबारे साझा धारणा बन्न नसकेपनि पुनः बैठक बसेर सहमति जुटाउन पहल गरिने एक नेताले बताए ।
चारै जना नेताहरूले संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्ने दाबी गर्दै आए पनि सहमति जुट्न सकेको छैन । इतर समूहले यी चारै नेताले सभापतिमा दावी गर्दै आएका छन् ।
काँग्रेसको महाधिवेशन उद्घाटन शुक्रबार काठमाडौंमा हुँदैछ ।