
सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ । यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।
काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् । सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अन्तक्र्रिया गर्दै कांग्रेस नेता कोइरालाले संस्थापन इतरका चार नेताहरू एकजुट हुने हो भने देउवालाई सभापतिमा सजिलैसँग पराजित गर्न सकिने बताए ।
हालसम्म कांग्रेसमा संस्थापन इतर पक्षका शेखरलगायत रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनीहरू चार जनाबीच सहमति खोज्ने प्रयासलाई तीव्रता दिइएको नेता कोइरालाले जानकारी दिए । ‘हामी चार जनाबीच सहमति जुटाएर एक जनालाई मात्रै सभापतिको उम्मेदवार बनाउने गृहकार्यलाई तीव्रता दिएका छांै,’ कोइरालाले सम्पादकसँगको छलफलमा भने ।
कोइरालाले नेपाली राजनीतिमा नैतिकता र इमानदारिताजस्ता विषय ओझेलमा पर्दै गएकाले आफूले सभापतिमा जितेमा राजनीतिलाई नैतिक र इमानमा चल्ने बनाउने स्पष्ट पारे । उनले अहिले देशभरका कार्यकर्ता र प्रतिनिधिहरूले आफूलाई सभापतिमा उठ्न सुझाव दिएकाले कार्यकर्ता र प्रतिनिधिको भावनाअनुसार नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । ‘म कमजोर छैन, निर्वाचनमा मेरो जित सुनिश्चित छ त्यसैले अन्य तीन जनाले आफूलाई छोडिदिनुपर्नेमा उनको जोड छ । ‘रामचन्द्र, प्रकाशमान र शशांकले अब सभापतिका लागि मलाई छोडिदिनुपर्छ, त्यस्तो अवस्थामा मैले सभापतिमा सहजै जित हासिल गर्न सक्छु,’ नेता कोइरालाले भने । शेखरले अन्तिम अवस्थामा गएर आफूलाई छोडिदिने दाबी शशांकले गरेका छन् । त्यसैले अब रामचन्द्र र प्रकाशमान पनि उदार भएर मेरो नाममा सहमति गर्नुपर्छ, त्यसो भएमा सभापतिमा हामी सजिलैसँग जित्छौं,’ कोइरालाले भने ।
सभापतिका आकांक्षी डा. शेखर कोइरालाले आफ्नो समूहमाथि सभापति देउवाले खेलेको आरोप लगाए । सभापतिले नै खेलेर सहमति गर्न दिनुभएको छैन,’ उनले भने । कोइरालाले आफूहरू चार जनामध्ये देशभरका कार्यकर्ताले जसलाई ग्रिन सिग्नल दिन्छन् उही मात्रै सभापतिमा उठ्नुपर्छ भन्ने मान्यता आफूमा रहेको स्पष्ट पारे । मलाई कार्यकर्ताले बस्नु भन्नुहुन्छ भने म बस्न तयार छु र अरू तीन जना पनि त्यसरी नै तयार हुनुपर्छ,’ कोइरालाले भने । कोइरालाले अन्तिम समयमा आएर कृष्णप्रसाद सिटौलाले देउवा पक्षलाई समर्थन दिएर आफूहरूलाई धोका दिएको बताए । राजधानी दैनिकममा खबर छ ।