२९ जेठ २०८३, शुक्रबार

कांग्रेसको नेतृत्व चयनमा भरसक सहमतिका साथ अगाडि जान्छौं : सभापति देउवा

मंसिर २३, २०७८
कांग्रेसको नेतृत्व चयनमा भरसक सहमतिका साथ अगाडि जान्छौं : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभए मात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेसन बिल्डिङ’ नामक पुस्तकको बिहीवार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की कांग्रेसलाई आगामी आमनिर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

उनले भने, ‘महाधिवेशन शुरू भइरहेको छ हाम्रो पार्टीको । अहिलेको पार्टीको महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ नेपाली कांग्रेसको लागि । मलाई लाग्छ नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि यो अत्यन्तै महत्त्वपूर्ण महाधिवेशन हो । यो महाधिवेशनमा सबै साथीहरूको उत्साह छ । सबै मानिस उत्साहित भएर आएका छन् । मलाई विश्वास छ – यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किंदाखेरी सबै पार्टीका साथीहरूले अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलिको आमचुनावमा नेपाली कांग्रेसलाई फर्सट पार्टी सबभन्दा ठूलो पार्टी बनाउने काममा सबै साथीहरू लाग्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । मलाई अहिले धेरै समय छैन । मलाई विश्वास छ – यस काममा हाम्रा पार्टीका सबै साथीहरू लाग्नुहुनेछ । हामीहरू भरसक सहमतिका साथ अगाडि जान्छौं । नभएको प्रजातान्त्रिक तरिकाले, केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला तर प्रतिस्पर्धामा जीतहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाका रूपमा लिने, कुनै पनि किसिमको कटुता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरूबाट अगाडि बढनुपर्छ ।’

प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली कांग्रेसको १४औं महाधिवेशन महत्त्वपूर्ण रहेको दाबी समेत गरे । कार्यक्रममा कांग्रेस सहमहामन्त्री तथा लेखक महतले पुस्तक नेपाली कांग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्