३० जेठ २०८३, शनिबार

बेलायतका प्रधानमन्त्री परे नयाँ विवादमा, जनता मरिरहँदा अधिकारीहरूले पार्टी गरेको खुलासा

मंसिर २३, २०७८
बेलायतका प्रधानमन्त्री परे नयाँ विवादमा, जनता मरिरहँदा अधिकारीहरूले पार्टी गरेको खुलासा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अहिलेसम्मको कार्यकालमा अनेकौं विवादको सामना गरेका छन् । 

तर पछिल्लो विवाद निकै गम्भीर छ । 

पोहोर सालको क्रिसमस आउनुअघि प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रीटमा अधिकारीहरूले जमघट गरी रमाइलो गरेको दाबीका कारण जोनसन विवादमा परेका छन् । त्यस समयमा कोरोनाभाइरस रोक्नका लागि विभिन्न प्रतिबन्ध लगाइएकाले यस्ता गतिविधि गर्ने छुट कसैलाई पनि थिएन । 

आईटीभी न्युजमा मंगलवार उक्त पार्टीको भिडियो सार्वजनिक भएपछि विवाद झनै चर्केको हो । त्यसमा अधिकारीहरूले प्रेस ब्रीफिङमा के बोल्ने भन्ने विषयमा मजाक गरेका थिए । 

तर डाउनिङ स्ट्रीटले क्रिसमस पार्टी आयोजना नगरेको र कोरोनाभाइरस नियम पालन गरिएको दाबी गरेको छ । यस विषयमा छानबिन गर्नका लागि जोनसनले एक समितिको घोषणा बुधवार गरेका छन् । 

प्रधानमन्त्रीकी पूर्व प्रवक्ता अलेग्रा स्ट्राटनले सल्लाहकारको पदबाट राजीनामा दिएकी छन् । 

सन् २०२० को नोभेम्बर २७ र डिसेम्बर १८ मा जमघट गरिएको पाइएको छ । पहिलो जमघटमा जोनसनले भाषण समेत दिएको पाइयो । अनि दोस्रो जमघटमा गोप्य उपहारहरू आदानप्रदान गरिएको भेटियो । 

बेलायत सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि थप कडा उपाय अपनाउन खोजेको बेलामा यो घटना सार्वजनिक भएको हो । प्लान बी नाम दिएर जोनसनले ओमिक्रोन केसहरू बढिरहेकाले गर्दा नियन्त्रण थप कसिने घोषणा बुधवार गरेका छन् । 

जनतालाई कठोर नियन्त्रण लगाउने अनि सरकारी अधिकारीहरू चाहिँ कार्यालयमा मोजमज्जा गर्ने भन्दै आक्रोश व्यक्त गरिएको छ । 

अधिकारीहरूले चाहिँ जानीजानी पार्टी गर्ने उद्देश्यले नै जमघट नगरेको बरू दिनको १८ घन्टा काम गर्दा थाकेपछि ताजा हुनका लागि रमाइलो गरेको बताएका छन् । 

जोनसन सरकारलाई अप्ठ्यारो पार्ने गरी कसले यो गोप्य भिडियो लीक गरायो भनेर समेत प्रश्न उठाउन थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्