
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको साझा उम्मेदवार बन्न प्रकाशमान सिंहको सहमति लिन नसकेपछि डा. शेखर कोइराला सभापतिको उम्मेदवारीका लागि अगाडि बढेका छन् ।
उनले वरिष्ठ नेता पौडेललाई भेटेर आफू सभापतिका लागि अगाडि बढिसकेको भन्दै आशीर्वाद दिन आग्रह गरेका छन् ।
‘मैले लामो समयदेखि सभापतिमा उठ्ने तयारी गरेको छु । अब प्रकाशमान उठेपनि म पछि हट्दिनँ । मलाई तपाईं र शशांकको समर्थन एवं आशीर्वाद चाहियो भनेर उहाँ (शेखर)ले रामचन्द्र पौडेससँग भन्नुभएको छ,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले लोकान्तरसँग भने ।
शेखरले बिहीवार बिहान जिल्ला र प्रदेशका नेतासँग पनि छलफल गरेका थिए । छलफलमा अधिकांशले शेखरलाई अगाडि बढ्न सुझाव दिएका छन् ।
‘अधिकांशले तपाईं सभापतिको उम्मेदवार बन्नुभयो भने देउवालाई हराउन सकिन्छ भन्ने सुझाव दिनुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने ।
केहीले भने मध्यमार्गी धारणा राखेका थिए ।
कांग्रेस संस्थापनइतरबाट सभापतिका लागि शेखर तयारीका हिसाबले सबैभन्दा अगाडि छन् ।
सबैजसो जिल्लामा पुगेर शेखरले लामो समयदेखि उम्मेदवारीका लागि पृष्ठभूमि तयार पार्दै आएका थिए ।
जिल्ला र प्रदेशका नेताहरूको कुरा सुनेपछि शेखरले आफू पछाडि नहटेको विश्वास उनीहरूलाई दिलाएको स्रोतले जानकारी दियो ।
कांग्रेस संस्थापनइतरबाट शेखरका अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह सभापतिका आकांक्षी थिए ।
शशांकले दाबी छाडेका छन् भने रामचन्द्र पनि आफ्नो समूहबाट एकभन्दा बढी उम्मेदवारी पर्ने अवस्थामा पछाडि हट्न तयार छन् ।