
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तीन ठाउँमा व्यवस्थित ढंगले मतदानको व्यवस्था गरिएको उनले बताए । मतदाता (महाधिवेशन प्रतिनिधि)ले शुरूमा सभापतिको लागि भोट हाल्ने छन् ।
सभापतिको भोट बाकसमा खसालेपछि उपसभापति र त्यसपछि क्रमशः महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको लागि मतदान गर्नेछन् ।
हालै सम्पन्न महाधिवेशनमा नेकपा एमालेले विद्युतीय मतदानको व्यवस्था गरेको भएपनि नेपाली कांग्रेसले भने मतपत्रमा नै भोट हाल्ने व्यवस्था गरेको छ ।
‘ब्यालेट पेपर प्रयोग गर्ने यो कांग्रेसको अन्तिम महाधिवेशन हुनेछ,’ शर्माले भने, ‘अन्य विषयमा अरू दलभन्दा हामी पहिल्यै डिजिटल प्रविधिमा गएका हौं, विद्युतीय मतदानमा भने हामी अब जानेछौं ।’
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते शनिवारदेखि प्रक्रिया शुरू हुँदैछ ।
२५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन र मंसिर २७ गते मतदान गर्ने कार्यक्रम छ ।
मतदान सकिएलगत्तै शुरूमा सभापतिको मतगणना गर्नेगरी तयारी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।