०८ साउन २०८३, शुक्रबार

प्रदेशमा पदाधिकारी थप्ने माओवादीको निर्णय, कुन प्रदेशमा कति सदस्यीय कमिटी ?

मंसिर २३, २०७८
प्रदेशमा पदाधिकारी थप्ने माओवादीको निर्णय, कुन प्रदेशमा कति सदस्यीय कमिटी ?

नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको बिहीवार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो ।

प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरूलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रवक्ता महराले भने, ‘केन्द्रीय सदस्यहरू स्वेच्छाले कोही तल प्रदेशमा जान चाहन्छन् भने उनको इच्छाको कुरा भयो तर सकेसम्म हाम्रो तर्फबाट केन्द्रीय सदस्यहरू तल जानको लागि बल नगर्ने ।’

बैठकले प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार १ नम्बर प्रदेशमा २५९, २ नम्बर प्रदेशमा २७१, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा माओवादी पार्टी प्रवेश गर्नेहरूको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ भने महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरु सदस्यहरूलाई पछि थप्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्