
बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीवारदेखि शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिइन् ।
स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको जनाउँदै उनले नगर खेलकुद परिषद्को स्थापनाका साथै एक वडा एक खेल मैदानको अवधारणा अघि बढाइएको बताइन् ।
उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए ।
देवीनगरस्थित कदरबहादुर रीता रायमाझी आद्योगिक माविमा शुरू भएको प्रतियोगितामा बेनी, तिलोत्तमा, बुटवल र वीरेन्द्रनगरले विजयी शुरूआत गरेका छन् । बेनी नगरपालिका, म्याग्दीले भीमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा जीत दर्ता गरेको हो । दोस्रो खेलमा तिलोत्तमाले कोहलपुर नगरपालिकालाई पराजित गर्दै स्पष्ट जित निकालेको छ ।
अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदावरी नगरपालिकालाई पराजित गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले टीकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता समूहले ७५ हजार, कप, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले नगद ३५ हजार तथा चौथो हुने समूहलाई सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।
लीग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न जिल्लाका १० समूहले भाग लिएका छन् । प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।