२१ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

देउवातिर ढल्किए सिटौला, पौडेल समूहमा रडाको

मंसिर २४, २०७८
देउवातिर ढल्किए सिटौला, पौडेल समूहमा रडाको

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला सभापति शेरबहादुर देउवा समूहतिर ढल्किएका छन् । उनले चुनावी प्रक्रियामा देउवालाई सघाउने गरी समझदारी बनेको नेताहरुको भनाइ छ । विभिन्न चरणमा भएको छलफलमा सिटौला देउवालाई सघाउन राजी भएका हुन् । सोही अनुसार सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले महाधिवेशनमा आफूले कसलाई सघाउने भन्नेबारे स्पष्ट  खुलाएनन् तर युवाको प्रतिनिधित्व गर्दै आजकै दिनदेखि आफूले प्रदीप पौडेललाई अघि सारेको बताए । यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले साथ छाडेपछि पौडेलको इन्ट्री भएको हो । यद्यपि सिटौलाले आफू जहाँ हुन्छु मुल पार्टी पनि त्यही हुने बताएका छन् ।

यता काँग्रेसको रामचन्द्र पौडेल पक्षमा रडाको देखिएको छ।  उम्मेदवारी चयनका लागि विगत केही दिनयता नेताहरु निरन्तर छलफलमा रहेपनि मुलतः प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा दावी नछाड्ने बताएपछि सो समूहमा रडाको देखिएको हो । यही अवस्था रहे पौडेल समूह छिन्नभिन्न रहन सक्ने पौडेल समूहले नै बताउन थालेका छन् । आज पनि पौडेल समूहले सहमति जुटाउन प्रयास गर्ने बताइएको छ।  काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ताको कार्यसुची रहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन भने शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। 

काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । हालसम्म देउवासहित विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै रामचन्द्र पौडेल समूह पनि साझा उम्मेदवार तय गर्न प्रयासरत छ । कांग्रेस महाधिवेशनको प्रमुख समाचारसहित लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छः

अब समाचार संक्षेपमा
ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो ।
००००
पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।
००००
नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
००००

पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।
००००
नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।
००००
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्