
नुवाकोटको तादी गाउँपालिका–१, २, ३ र ४ विद्युत् सेवा विस्तार गरिएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध रहेको वडा नम्बर ४ स्थित बाघमारा र सुन्दरीजल–गोसाइँकुण्ड पदमार्गको क्षेत्र सहितको स्थानमा पहिलोपटक विद्युत् सेवा पुर्याइएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तादीका वडामा हालसम्म बत्ती पुग्न नसकेको स्थानमा केन्द्रीय प्रसारण प्रणालीअन्तर्गतको विद्युत् सेवा पुर्याई बत्ती बल्न शुरू गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए ।
उनका अनुसार उज्यालो बागमती अभियानमार्फत डिभिजन कार्यालयले ५० लाख रुपैयाँ बजेटमार्फत १३५ वटा फलामका खम्बा र १३ किमी प्रसारण लाइनको तारमार्फत उपभोक्ताको श्रमदानबाट बत्ती बाल्न थालिएको हो । बत्ती पुगेसँगै उच्च हिमाली एवं दुर्गममा पर्ने उक्त क्षेत्रका करीब १०० परिवार प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
विद्युत् सेवा नहुँदा व्यक्तिगत खरिद गरिएका सोलार बत्ती र टुकी बालेर बस्दै आएका बासिन्दा केन्द्रीय प्रसारण लाइनमार्फत व्यवस्थित फलामे खम्बासहितको विद्युत् सेवा घरघरमा पुगेसँगै खुशी भएका वडा नम्बर २ का वडाध्यक्ष बच्चुराम तामाङले बताए । उनका अनुसार बत्ती नहुँदा साँझ हुने बित्तिकै खाना खाएर सुत्नुपर्ने अवस्था थियो । बत्ती सुविधा भएसँगै दिनभरको उज्यालोमा दैनिक काम गर्ने र अँध्यारो समयमा बत्ती भएपछि घरभित्रको काम गर्न, बालबालिकालाई अध्ययन गर्न, मोबाइल तथा रेडियो र टेलिभिजनको प्रयोग गर्न सहज भएको छ ।