२२ जेठ २०८३, शुक्रबार

विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या

मंसिर २४, २०७८
विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या
प्रतिकात्मक तस्वीर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा गैंडाकोट क्षेत्रमा विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका गण्डकी प्रदेश निर्देशनालयका वरिष्ठ इन्जिनीयर रामचन्द्र पोखरेलले सडकका कारण मुख्य राजमार्ग क्षेत्रमा टेलिकमको नयाँ सेवा विस्तारमा समस्या भएको बताए ।

‘हामीले बिजुलीका खम्बामा फाइबर तार टाँगेर ग्राहकलाई एउटै तारबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा दिँदै आएका छौं,’ पोखरेलले भने, ‘तर सडक विस्तार भइरहेको गैंडाकोट क्षेत्रमा बिजुलीका खम्बा सार्न ढिलाइ भएकाले मुख्य बजार क्षेत्रमा हामीले हाम्रो सेवा दिन पाएका छैनौं ।’ 

अहिले भइरहेका खम्बामा टेलिकमको तार टाँगेको अवस्थामा फेरि सार्ने बेलामा कठिन हुने भएकाले सेवा विस्तारमा समस्या आइरहेको पोखरेलको भनाइ छ । अहिले नेपाल टेलिकमको ‘फाइबर टु होम’ सेवा प्रदेशका ११ वटै जिल्लामा पुगेको पोखरेलले बताए ।

‘हामीले केही दिन अगाडि मात्रै मनाङमा टेलिकमको फाइबर पुर्‍याएका छौं,’ पोखरेलले भने, ‘मनाङमा फाइबर पुगेसँगै प्रदेशका सबै जिल्लाका सेवाग्राहीले एउटै तारबाट इन्टरनेट, टेलिफोन र टेलिभिजनका सेवा लिन सक्ने भएका छन् ।’ 

टेलिकमले पहिले वितरण गर्दै आएको एडिएसल सेवा विस्थापित गर्दै नयाँ सेवा प्रदान गर्नसमेत फाइबरको प्रयोग गर्न पोखरेलले आग्रह गरे । ‘एडिएसएलमा तामाको तारबाट इन्टरनेट सेवा दिइन्थ्यो, जसको स्पिड एकदमै थोरै हुन्थ्यो,’ उनले भने, ‘अहिले फाइबरबाट दिइने सेवा गुणस्तरीय, उच्च गतिको हुने भएकाले सेवाग्राहीबाट गुनासो समेत आएको छैन ।’ 

टेलिकमको फाइबर टु होम सेवालाई प्रदेशका सबै जिल्लाका साथै नवलपुर जिल्लाभर विस्तार गर्न क्षमता बढाउने काम भइरहेको वरिष्ठ इञ्जिनीयर पोखरेलले बताए ।

जिल्ला सदरमुकाम कावासोतीमा लेखा शाखाका रूपमा टेलिकमले सबै सेवा प्रदान गर्ने गरी नयाँ कार्यालय खोलेकाले पोखरेलले अब यहाँका नागरिकलाई गुणस्तरीय इन्टरनेटसँगै टेलिफोन र मोबाइल फोन सेवा पुर्‍याइने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्