
दोस्रो तहका नेताहरूको आग्रहपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
संस्थापनइतर प्यानलबाट सभापतिको साझा उम्मेदवार नबनेको अवस्थामा आफू महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने अडान पौडेलले राखेका थिए ।
मंगलवार साँझ आफूपक्षीय नेताहरूको बैठकमा पनि उनले कृष्णप्रसाद भट्टराई जस्तै आफू पनि कांग्रेसबाट अलग हुने अवस्था आउन लागेको बताएका थिए ।
पौडेल महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने अडान लिएपछि रक्षामन्त्री मीनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी, महेश आचार्य, गगन थापा लगायतले शुक्रवार पौडेलको निवास बोहोराटारमा गएर सम्झाएका थिए ।
संस्थापन इतरबाट साझा उम्मेदवार बनाउन भन्दै पौडेल निवास बोहोराटारमा कांग्रेस कार्यकर्ताको भीड लागेको छ ।
संस्थापन इतरबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको दाबी छाडेका छैनन् ।
संस्थापन पक्षका विमलेन्द्र निधिले समेत रामचन्द्रलाई सर्वसम्मत सभापति बनाइए आफूले दाबी छाड्ने बताएका छन् ।
कांग्रेस महाधिवेशनको उद्घाटन अहिले शुक्रवार दिउँसो शुरू हुँदैछ ।