
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरूबीचको प्रतिस्पर्धाभित्र पनि एकता खोज्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले दलहरूबीच प्रतिस्पर्धा भए पनि त्यसभित्र एकता खोज्नुपर्ने बताएका हुन् ।
'कहिलेकाहीँ म सुन्छु, पार्टी र साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ । एक्लै हिँड्ने अहंकार कसैले नगरौं । प्रतिस्पर्धा गरे पनि त्यसभित्र एकता खोज्नैपर्ने हुन्छ,' प्रचण्डले भने, 'अहिलेसम्मका सफलता दलहरूको एकताबाटै भएको हो ।'
उनले अहंकार गर्दा ओरालो यात्रा शुरू हुने भन्दै मञ्चमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित समेत गरे ।
'जसले अहंकार गर्यो, त्यसको ओरालो यात्रा शुरू भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ,' प्रचण्डले भने ।
उनले जनतामा गरेका वाचा सरकारमा गएपछि पूरा गर्न नसकेको भन्दै नेताहरूले समीक्षा गर्नुपर्ने बताए ।
'एकल पार्टी सत्तामा जाँदा पनि वा संयुक्त रूपले सत्तामा जाँदा पनि हामीले जनतामा जे वाचा गरेका हुन्छौं, त्यो पूरा गर्न सकेका छैनौं,' प्रचण्डले भने, 'हामीले कहीँ न कहीँ धर्ती छाडेको जस्तो महशुस हुन्छ । जनतामा गरिएका वाचाबाट विचलित भएका उदाहरण छन् ।'
प्रचण्डले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति गलत भएको पनि बताए ।
'एक जनाले भन्नुभयो, नेता आउँदा चोर आयो भन्छन् । के त्यस्तो हो त ? होइन, गलत हो,' प्रचण्डले भने, 'यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल, लोकतन्त्रका निम्ति लडेका नेतालाई बदनाम गर्न खोजिन्छ, त्यसलाई तानाशाही ब्यूँताउने षड्यन्त्र हो भनेर बुझिन्छ ।'
उनले निरंकुशताविरुद्ध एवं तानाशाहीविरुद्ध दलहरू एकजुट भएर लडेको स्मरण समेत गरे ।