३० असार २०८३, मंगलबार

नवलपुरमा २ लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम

मंसिर २५, २०७८
नवलपुरमा २ लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम
प्रतिकात्मक तस्वीर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा झण्डै २ लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको संख्या १ लाख ९७ हजार ३८२ पुगेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट १ लाख ८४ हजार ३३७ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रवारसम्म १३ हजार ४५ जनाले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेका थापाको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट नयाँ नागरिकता बनाउने भन्दा धेरैले नागरिकताको प्रतिलिपि निकालेका छन् ।

चालू आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म जिल्लामा ४ हजार ४८६ जनाले नयाँ नागरिकता बनाउँदा ४ हजार ६०१ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । नयाँ नागरिकता बनाउने पुरुष २ हजार ३३५ तथा महिला २ हजार १५१ रहेका भन्दै सहायक प्रजिअ थापाले नागरिकताको प्रतिलिपि निकाल्ने पुरुष २ हजार ४४१ तथा महिला २ हजार १६० रहेका बताए ।

‘नागरिकताको प्रतिलिपि निकाल्नेको संख्या साउन भदौमा बढी देखिएको थियो,’ सहायक प्रजिअ थापाले भने, ‘गाउँगाउँमा राष्ट्रिय परिचयपत्रका लागि टोली जाँदा धेरैको नागरिकता थोत्रो भएको, प्रस्ट नबुझिने भएको तथा नष्ट भएका जस्ता कारण उनीहरूको परिचय पत्रको काम भएन अनि प्रतिलिपि निकाल्न आएका थिए ।’

विभिन्न जिल्लाबाट नवलपुरमा बसाइँ सरेर आउनेको नागरिकताको प्रतिलिपिसमेत यहीँ बनाइएका कारण प्रतिलिपि निकाल्नेको संख्या धेरै देखिएको सहायक प्रजिअ थापाले बताए ।

जिल्ला प्रशासनमा राहदानीको काम रोकिएको छ । पुरानो (एमआरपी) राहदानी निर्माण रोकेर नयाँ ‘इ–पासपोर्ट’ बनाउन शुरू भएसँगै जिल्लाबाट राहदानीको काम रोकिएको हो । यद्यपि अत्यावश्यक पर्ने व्यक्तिका लागि इ–पासपोर्टको सिफारिस दिने काम भइरहेको सहायक प्रजिअ थापाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्