
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता शनिवार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।
मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
मनोनयनका लागि लाग्ने रकम महाधिवेशनस्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रूपमा स्थापना गरेर समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।
उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।
पार्टीको संस्थापन समूह र संस्थापन इतर समूहले प्यानलगत रूपमा उम्मेदवारी दिने बताइएको भए पनि अहिलेसम्म प्यानल घोषणा गरिएको छैन । हालसम्म केन्द्रीय सभापतिमा प्रधानमन्त्री एवं वतर्मान पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महमन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला मुख्य आकांक्षी देखिएका छन् ।
अन्य पदाधिकारी तथा सदस्यमा भने नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पद अनुसारका आकार र रंगका मतपत्रको व्यवस्था गरिने छ ।
महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मशिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गताबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि ४ वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा १ वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।
महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा ४ हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
यसअघि शुक्रवार भृकुटीमण्डपमा भव्य समारोहबीच महाधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन सम्पन्न भएपछि शुक्रवार नै राति ९ बजे भएको बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो । – भीष्मराज ओझा/रासस