
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको प्रथम सम्मेलन शनिवारदेखि दाङमा शुरू भएको छ ।
सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि मात्रै सहभागी भए, आमकार्यकर्ताको उपस्थिति गराइएको थिएन ।
कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनीका कारण सम्मेलनमा भीडभाड कम गर्ने उद्देश्यले प्रतिनिधिको मात्रै उपस्थिति थियो । सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनलाई आकर्षक बनाउन कलाकारको प्रस्तुति राखिएको थियो ।
पहिलो दिन शनिवार उद्घाटन भएको सम्मेलनमा दोस्रो दिन आइतवार नेतृत्व चयन हुनेछ । लुम्बिनी प्रदेशमा २५३ सदस्यीय कमिटी गठन हुनेछ ।

हालसम्म अध्यक्षका लागि दाङका हेमराज शर्मा, रोल्पाका दीपेन्द्र पुन, पूर्वी रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संगठन कमिटीका सचिव जगप्रसाद शर्माले प्रदेशका सबै १०९ स्थानीय तहमा संगठन विस्तार भएको, १ लाख १२ हजार ९८८ पार्टी सदस्य रहेको जानकारी दिए ।