
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएपछि ट्विटरले एउटा बयान जारी गरेको छ ।
मोदीको अकाउन्ट ह्याक हुनेबित्तिकै आफूहरू सक्रिय भएको ट्विटरले जनाएको छ । अहिलेसम्मको अनुसन्धानमा कुनै अन्य अकाउन्ट प्रभावित भएको नपाएको ट्विटरले जनायो ।
सिस्टममा गडबडी भएकाले मोदीको अकाउन्ट ह्याक भएको ट्विटरको आन्तरिक अनुसन्धानले देखाएको छ ।
मोदीको आधिकारिक ट्विर ह्यान्डल शनिवार अबेर राति ह्याक भएको थियो । भारतीय समयअनुसार राति २ बजेर ११ मिनेट जाँदा मोदीको ट्विटर ह्यान्डलमा भारतले आधिकारिक रूपमा बिटकोइनलाई कानूनी मान्यता दिएको र सरकारले ५०० बिटकोइन किनेर मानिसहरूलाई बाँडेको लेखिएको थियो ।
दुई मिनेटमा नै यस ट्वीटलाई डिलिट गरियो अनि २ बजेर १४ मिनेटमा अर्को ट्वीट गरियो । त्यस ट्वीटलाई पनि तत्कालै डिलिट गरिएको थियो ।
तर त्यसबेलासम्म स्क्रीनशट भाइरल भइसकेको थियो ।
त्यस्तो भएको एक घन्टापछि ३ बजेर १८ मिनेटमा प्रधानमन्त्री कार्यालयले ट्वीट गरेर प्रधानमन्त्रीको ह्यान्डल ह्याक गरिएको जानकारी दियो ।
केही दिनअघि मोदीले बिटकोइनका विरुद्ध बयान दिएका थिए ।
भारत सरकारले इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमलाई ह्याकिंगको स्रोतका विषयमा पत्ता लगाउन भनको छ ।