१३ असार २०८३, शनिबार

काठमाडौंमा घट्यो तापक्रम, आज यस वर्षकै बढी चिसो महसुस

मंसिर २६, २०७८
काठमाडौंमा घट्यो तापक्रम, आज यस वर्षकै बढी चिसो महसुस

काठमाडौंमा आइतवार यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । 

विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५।० डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिवार ५।४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । काठमाडौंसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ । केही अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । 

मुलुकभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमवार  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्