
अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा एउटा समूहले सत्य कुरालाई पन्छाएर भ्रम सिर्जना गर्ने गरी गलत किसिमको हल्ला चलाएको बताएका छन् ।
सोमवार बीमा समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले शेयर बजारमा एउटा समूह नै लागेर गलत किसिमको हल्ला चलाइएको टिप्पणी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजी बजारमा भएको लगानी र व्यवसायको संरक्षण गर्न मन्त्रालय गम्भीरताका साथ लागिरहेको समेत बताए ।
शनिवार पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शेयर बजारबारे नकारात्मक टिप्पणी गरेका थिए ।
शनिवार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए ।
प्रचण्डको अभिव्यक्तिमाथि लगानीकर्ता र अन्य सरोकारवाला व्यक्तिहरूले चर्को विरोध गरिरहेका छन् ।