
नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति जुट्न नसक्दा आज र भोलिका लागि स्थगित भएको हो ।
तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको माओवादीले केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो ।
प्रदेश १ मा तीन जना अध्यक्षको दौडमा छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षको दौडमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङ्बो भने प्रदेशको जिम्मेवारीमा छैनन् ।
नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी भने बनिसकेको छ । सोही कमिटीबाट पदाधिकारी छनोट गर्नुपर्ने भए पनि सहमति भने जुटेको छैन ।
शनिवार शुरू भएको प्रदेश सम्मेलनले आइतवार नेतृत्व चयन गर्ने कार्यतालिका थियो ।
चुनावी प्रक्रियामा जाँदा माथिल्ला कमिटीमा जान नपाउने भएपछि सहमतिका लागि जोड भइरहेको माओवादी नेताहरू बताउँछन् ।
आकांक्षीहरूलाई आफैं मिलेर आउनुहोस् भनेर स्थगित गरिएको माओवादीका नेता नवराज चापागाईंले बताए । बुधवारसम्म सर्वसम्मत नै नेतृत्व चयन गर्ने उनको दाबी छ ।