अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले मंगलवार चीनलाई एसिया प्रशान्त क्षेत्रमा आक्रामक गतिविधि नगर्न चेतावनी दिएका छन् ।
इन्डोनेसियामा ब्लिन्केनले यो बयान दिएका हुन् । अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा चीनविरोधी साझेदारी बनाउनका लागि प्रयास गरिरहेको छ र त्यसैक्रममा ब्लिन्केन त्यहाँ पुगेका हुन् ।
वाशिङटनले साझेदार र सहयोगीहरूसँग मिलेर नियममा आधारित व्यवस्थाको प्रतिरक्षा गर्ने अनि मुलुकहरूलाई आफ्नो बाटो आफैं छान्ने अधिकार हुनुपर्ने ब्लिन्केनले बताए ।
‘त्यसैले उत्तरपूर्वीदेखि दक्षिणपूर्वी एसियासम्म अनि मकोङ नदीदेखि प्रशान्त महासागरका टापुहरूसम्म बेइजिङको आक्रामक गतिविधिका विषयमा चिन्ता छ । उनीहरू खुला समुद्रलाई आफ्नै भन्छन् । उसले सरकारद्वारा सञ्चालित कम्पनीहरूलाई सब्सिडी दिएर खुला बजारलाई बिगारिरहेको छ । उसले आफ्नो कुरा नमान्ने मुलुकहरूलाई निर्यात नगर्ने वा सम्झौता रद्द गर्ने काम गर्छ,’ उनले बताए ।
इन्डोनेसिया विश्वविद्यालयमा गरेको सम्बोधनका क्रममा उनले बताए, ‘यस क्षेत्रका सबै मुलुक चीनको यस व्यवहारमा परिवर्तन चाहन्छन्, हामी पनि त्यही चाहन्छौं ।’