वर्ल्डलिंक कम्युनिकेसनले नेपालमा ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ ।
बुधबार राजधानीमा आयोजित एक समारोहबीच कम्पनीले उक्त सेवा सुरू गरेको घोषणा गरेको हो । ग्राहकलाई यो प्याकेज वार्षिक १४ हजार ४ सय रूपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
ग्राहकलाई प्रति महिना १ हजार २ सय रूपैयाँ पर्नेछ । यसमा कम्पनीले नोकिया बेकन ३.० राउटर प्रयोग गर्ने जनाएको छ । 'ग्राहकको सधैं गुनासो छ कि हाम्रो नेट राम्रोसँग चल्दैन भन्ने,' कम्पनीका निर्देशक मनोज अग्रवालले भने, 'यो सेवासँगै अब यस्तो समस्या हुनेछैन । वर्ल्डलिंकले सार्वजनिक गरेको यो प्याकेजमा सबै ग्राहक जोडिन सक्छन् ।'
कम्पनीका अनुसार यसका लागि डुअल ब्यान्ड भएको राउटर लिनुपर्नेछ । ग्राहकलाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उदेश्यले यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।यसका साथै वर्ल्डलिंकले २२५ र ३०० एमबीपीएसको प्याकेज उपलब्ध गराउने भएको छ । २२५ एमबीपीएस गतिको इन्टरनेटको शुल्क प्रतिमहिना १४ सय रूपैयाँ र ३०० एमबीपीएसको १६ सय रूपैयाँ पर्नेछ ।
सद्भावना दूतमा निर्मल पुर्जा
वर्ल्डलिंक कम्युनिकेसनको सद्भावना दूतमा निर्मल पुर्जा नियुक्त भएका छन् । राजधानीमा आयोजित एक समारोहबीच वर्ल्डलिंकले पुर्जालाई सद्भावना दूतमा नियुक्त गरेको हो । पुर्जाले आठ हजारभन्दा अग्ला विश्वका १४ वटा हिमाल सात महिनामै आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । पुर्जाको हिमाल आरोहण कथामा आधारित वृत्तचित्र 'फोर्टिन पिक्सः नथिङ ईज ईम्पोसिबल' गत नोभेम्बर ३० मा विश्वभर नेटफि्लक्समार्फत सार्वजनिक भएको छ ।