
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिमा निर्वाचित धनराज गुरुङले अब आफू सबै कांग्रेसको उपसभापति भएको बताएका छन् ।
निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै गुरुङले आफू प्यानल बनाएर चुनावमा होमिएपनि जीतपछि भने सबै कांग्रेसको उपसभापति भएको बताए ।
उनले भने, 'अब म सबै कांग्रेसको उपसभापति ।'
उनले विजय कुमार गच्छदारलाई २ मतले पराजित गरेका छन् ।
गुरुङ शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने गच्छदारले सभापतिमा निर्वाचित देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए ।
मतगणनामा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बिहीवार बिहान २ बजे सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा धनराज गुरुङले विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेका छन् ।
गुरुङले १९०८ मत ल्याएर उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत ल्याएका छन् । उनीहरूबीचको मतअन्तर २ मात्रै छ ।
उपसभापतिमा पूर्णबहादुर खड्काले २१२१, विजयकुमार गच्छदारले १९०६ , धनराज गुरुङले १९०८ र डा. चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।