
नेपाली कांग्रेसको मंगलवार सम्पन्न १४औं महाधिवेशनको मत परिणामअनुसार हालसम्म १ सभापति र २ उपसभापतिको परिणाम आएको छ ।
कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १३४ पदका लागि ४८९ उम्मेदवार मैदानमा थिए । जसमध्ये प्रदेश २ अन्तर्गतका २ सदस्य पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ४७७ उम्मेदवारमध्ये १२९ जना निर्वाचित हुन बाँकी छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलवार निर्वाचन सकिएलगत्तै सभापतिको मतगणना गरेको थियो । बुधवार साँझबाट उपसभापतिको मतगणना शुरू गरेको थियो भने बिहीवारबाट महामन्त्री पदको गणना गर्ने तयारी समितिले गरेको छ ।
कांग्रेस विधानमा कूल १६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ भने त्यसमध्ये १३४ जना निर्वाचन प्रक्रियामार्फत चयन हुने व्यवस्था छ । जसमध्ये १३ जना पदाधिकारी मात्रै छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले पदाधिकारीको परिणाम शुक्रबारभित्र आइसक्ने तथा केन्द्रीय सदस्यको सबै परिणाम आउन कम्तीमा १ हप्ता लाग्ने जानकारी दिए ।
‘सबै पदाधिकारीको परिणाम शुक्रवारसम्म आउने गरी गणना भइरहेको छ, केन्द्रीय सदस्यको सबै परिणाम आउन कम्तीमा एक साता लाग्ला,’ निर्वाचन समितिका सदस्य रावलले भने ।
अब २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १२९ जना निर्वाचित हुनेछन् । केन्द्रीय सदस्यतर्फ मात्रै खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट १ महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खसआर्य ६ महिलासहित १३ जना, मधेशी ४ महिलासहित ९ जना, थारू २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपाङ्गता भएका १ जना चुनिनेछन् ।
२ नम्बर प्रदेशबाट भने २ सदस्य निर्विरोध भएपछि १ महिलाको मात्रै परिणाम आउन बाँकी छ ।
१ जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य भने विधानमा भएको व्यवस्थाको सदुपयोग गर्दै निर्वाचित सभापतिले पछि मनोनित गर्नेछन् । राजधानीमा खबर छ ।