देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
‘हाल प्रदेश नम्बर १ र बाँकी पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ,’ महाशाखाले भनेको छ ।
बिहीवार दिउँसो प्रदेश १ तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
बिहीवार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी ,गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने भएको छ । सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शुक्रवार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका थोरै भू–भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
शनिवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शनिवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा बदली रहने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।