
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
बिहीवार एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनका लागि बिहीवारदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रममा उल्लेख छ ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । रिक्त हुन गइरहेका एक मनोनित बाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।