
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले ५ बुँदे सहमति नगरेको स्पष्ट पारेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएको आरोप लगाएको सन्दर्भमा बिहीवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले सहमति भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको ५ बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झूटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ वक्तव्यमा उल्लेख छ ।
प्रचण्डले आफूले शेयर बजारमा सन्दर्भमा गरेको विश्लेषण समेत सही रहेको दाबी गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’