
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिएका छन् ।
बिहीवारदेखि शुरू भएको पार्टीको ३२औं केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश संकटमा पर्दै गएको तर्क गरे ।
बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।
बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको ९ महिनाका गतिविधिको पनि समीक्षा भएको उनले जानकारी दिए । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।