
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म सभापतिसहित दुई उपसभापति, २ महामन्त्री र ३ जना सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ भने शुक्रबार सहामन्त्रीकै गणना हुन बाँकी रहेका क्लस्टरहरुको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको विजय यात्रालाई लिएर पार्टीभित्र र बाहिर एकखालको खुसीयाली नै देखिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा कांग्रेसका मतदाताले परिवर्तन नरोजेको भन्दै कतिपयले टिकाटिप्पणी समेत गरेका थिए । अहिले युवाको प्रतिनिधित्व गर्ने गगन–विश्वप्रकाश विजयी भएसगै उनीहरुमाथि विश्वासको भारी पनि उत्तिकै गह्रौं देखिएको छ। उनीहरुले आम विश्वासलाई कसरी अघि बढाउँछन् त्यो हेर्न बाँकी नै छ । बिहीबार भएको मतगणनामा गगन र विश्वप्रकाश अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै पराजित भएका छन् ।
कांग्रेसको जारी मतगणनाको प्रमुखसमाचारसहित हामी ‘लोकान्तर राउण्ड अप’ लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टामा भएका घटनाक्रमलाई समेट्ने गर्छौँ ।
००००
कांग्रेसको सह–महामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन् । त्यसैगरी, महिलातर्फको सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन् । त्यसैगरी, दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् । यसैगरी उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका थिए ।
००००
कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसंगत ढंगले सुदृढ बनाएर लैजाने बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै बिहीवार उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।
नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा २ युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताए ।
००००
रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडि बढ्न सुझाव दिए ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यहाँस्थित अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।
००००
कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ मा पुगेको छ ।
००००
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले ५ बुँदे सहमति नगरेको स्पष्ट पारेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएको आरोप लगाएको सन्दर्भमा बिहीवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले सहमति भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
००००
भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेले चीफ अफ स्टाफ कमिटीको अध्यक्षको पदभार सम्हालेका छन् । उक्त कमिटीमा तीनै सेनाका प्रमुख रहन्छन् ।
००००