२१ जेठ २०८३, बिहीबार
भ्रष्टाचार मुद्दा

लामो समय खरदार-नासु, ५ महिना मात्र अधिकृत भएका व्यक्तिले डेढ करोड अवैध आय गरेको भेटिएपछि ...

पुस २, २०७८
लामो समय खरदार-नासु, ५ महिना मात्र अधिकृत भएका व्यक्तिले डेढ करोड अवैध आय गरेको भेटिएपछि ...

३५ वर्षको सरकारी सेवामा मुखियादेखि शाखा अधिकृतसम्म बनेका उद्धव थपलियाविरुद्ध डेढ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

५ महिनामात्र शाखा अधिकृत भएर अवकाश पाएका थपलियाले पदमा हुँदा अख्तियारको दुरुपयोग गरी १ करोड ६४ लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ११ का ५७ वर्षीय उद्धव थपलियाले ८ वर्ष मुखिया, १६ वर्ष खरिदार, ११ वर्ष नायब सुब्बा र ४ महिना मात्र शाखा अधिकृत पदमा कार्यरत रही अवकाश पाएका थिए ।

२०४० फागुन ६ गते मुखिया पदबाट सरकारी जागिरमा प्रवेश गरेका थपलिया ८ वर्षपछि २०४८ जेठ ९ गते खरिदार पदमा बढुवा भएका थिए ।  खरिदार पदमा १६ वर्ष काम गरेपछि २०६४ माघ १ गते नायब सुब्बामा उनको बढुवा भएको थियो। ११ वर्ष नायब सुब्बामा काम गरेपछि २०७५ वैशाख २३ गते शाखा अधिकृतमा बढुवा भयो । करीब ५ महिना मात्र शाखा अधिकृतमा काम गरेपछि २०७५ भदौ ७ गते उनले अवकाश पाएका थिए।

गृह मन्त्रालय, अर्थ मन्त्रालयसहित विभिन्न सरकारी कार्यालयमा काम गरेका उनले आफ्नो ३५ वर्षको जागिरको अवधिमा १ करोड ६४ लाख ७९ हजार ७ सय रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट खुलेको हो ।

थपलियाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफ्नो श्रीमती मुना पन्त थपलियाको नाममा घर जग्गा खरिद गरेको पाइएको हो। त्यसैगरी श्रीमतीकै नाममा बैंक खाताहरूमा रकम मौज्दात राखेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

उनले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा श्रीमती मुना पन्त थपलियाको नाममा जग्गा किनेर घर बनाएका छन्।

त्यसैगरी श्रीमतीकै नाममा खोलिएको बैंक खाता र सहकारीका खातामा समेत लाखौँ रुपैयाँ रहेको अख्तियारको अनुसन्धानबाट खुलेको हो।

अख्तियारले गरेको छानबिनमा सरकारी जागिर प्रवेश गरेदेखि अवकाश पाएको अवधिसम्म उनको वैध आय १ करोड २ लाख ८२ हजार २५८ रुपैयाँ देखिएकोमा उनको आम्दानी तथा लगानी २ करोड ६७ लाख ७१ हजार ९५८ रुपैयाँ रहेको पाइयो ।

परिणामस्वरूप १ करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको भनेर पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम थपलिया दम्पतीलाई प्रतिवादी कायम गरी अख्तियारले विशेष अदालतमा सम्पत्ति जफत गरी पाउन मागदाबीसहित मुद्दा दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार मुद्दा दर्ता भएपछि म्याद तामेलीका लागि पत्राचार गरिसकिएको छ ।

म्यादभित्र उपस्थित भएमा उनको बयानलगायतका प्रक्रिया अगाडि बढ्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्