
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई कारवाही गरिनु गलत भएको बताएका छन् ।
शुक्रवार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरूलाई दुरुत्साहित हुने ढंगले कारवाही गरिनु गलत भएको बताएका हुन् ।
‘क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपयुक्त विधि अपनाउनुपर्छ,’ उनले भने, ‘खेल क्षेत्रमै आफ्नो ऊर्जावान समय खर्चिएका खेलाडीहरूलाई गरिएको कारवाहीले गलत सन्देश प्रवाह भएको छ ।’
आगामी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीहरूलाई निर्देशनसमेत दिए । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरूको वर्र्गीकरण प्रक्रियाका विषयमा समेत चासो लिएका थिए ।
मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, खेलाडीहरू सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारवाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारवाहीको निर्णयमाथि पुनर्विचार गर्न भनेका छन् ।