
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भेटेर माला लगाइदिएका छन् ।
महामन्त्रीमा विजयी भएको भोलिपल्ट शुक्रवार काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ८ स्थित कायस्थकै निवासमा पुगेर शर्माले सम्मान व्यक्त गरेका हुन् ।
लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेशलाई बनेपाको तीन दोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागेको थियो ।
त्यस दिनदेखि उनको होश अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन ।
गोलीको घाउ निको भए पनि मुकेशको टाउकामा गहिरो खाल्डो छ । कायस्थलाई जिउँदो शहीदका रूपमा चिन्ने गरिएको छ ।
तस्वीर : राजकुमार पराजुली/रासस