०१ असार २०८३, सोमबार

दोब्बर बढ्यो लघु, साना उद्योगको दर्ता

पुस ५, २०७८
दोब्बर बढ्यो लघु, साना उद्योगको दर्ता

कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७÷७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ ।

विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा यस्ता उद्योगको दर्ता उल्लेख्य वृद्धि भएको छ । उक्त वर्ष ७७ ओटै जिल्लामा गरी ८३ हजार ३८६ उद्योग दर्ता भएका छन्, जुन यो त्यसको अघिल्लो वर्षभन्दा झन्डै दोब्बरले बढी हो ।

त्यस वर्ष कुल दर्ता भएका ती उद्योगको प्रस्तावित कुल पूँजी १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ती उद्योग सञ्चालनमा आउँदा रोजगारी पाउनेको संख्या ३ लाख ११ हजार ६९३ हुने प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०७६/७७ मा मात्रै ७७ ओटै जिल्लामा कुल ४८ हजार ८५४ ओटा यस्ता उद्योग दर्ता भएका छन् । २०७६/७७ मा कुल दर्ता भएका उद्योगमा प्रस्तावित कुल पूँजी १ खर्ब ११ अर्ब १५ करोड रहेको छ ।

यी दर्ता उद्योग सञ्चालनमा आउँदा १ लाख ६९ हजार ७७१ जनाले रोजगार पाउने प्रक्षेपण गरिएको छ । विभागका अनुसार २०७६/७७ मा कुल दर्ता उद्योगमध्ये सबैभन्दा धेरै कृषि तथा वनजन्यका २२ हजार ९७ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा भने यो क्षेत्रका दर्ता हुने उद्योगको संख्या ४८ हजार ८५२ रहेको छ ।

प्रतिवेदन लेखनमा संलग्न तथ्यांक अधिकृत पुष्पराज शिवाकोटी कोरोना महामारीपछि मुलुकमै केही गरौं भन्ने युवाको संख्या बढ्दा कोरोनाकै बीचमा पनि उद्योग दर्ताको संख्या बढेको बताउँछन् । विदेशिएका युवा नेपालमै आएका र कतिपय विदेश जान र यही बसोवास गर्दै आएकाहरूले पनि मुलुकभित्रै केही गरौं भन्ने चाहना राखेकैले दर्ता संख्यामा बढोत्तरी देखिएको उनको आकलन छ ।

विभागले यी २ आर्थिक वर्षका साथै शुरूदेखिकै तथ्यांक उक्त प्रतिवेदनमा समेटेको छ । यी २ वर्षको तथ्यांकसहित हालसम्म मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या ४ लाख ८७ हजारभन्दा बढी पुगेको छ ।

प्रादेशिक आधारमा यस्ता उद्योग दर्ता सबैभन्दा बढी वागमती प्रदेशमा ३२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार कर्णालीमा जम्मा ५ प्रतिशत लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यसैगरी अन्य प्रदेशमा लुम्बिनीमा १७, प्रदेश १ र २ मा समान १४÷१४ प्रतिशत, गण्डकीमा ११ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ७ प्रतिशत यस्ता उद्योग दर्ता भएका छन् ।

त्यस्ता उद्योगलाई विभिन्न ८ तहमा राखेर वर्गीकरण गरिएको छ । त्यसमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन र सेवामूलक उद्योग दर्ता संख्या बढी छ ।

विभागको तथ्यांकअनुसार हालसम्म दर्ता भएकामध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म १ लाख ७८ हजार ६६२ सेवामूलक उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम सूचनाप्रविधिका उद्योग छन् । लघु, घरेलु तथा साना उद्योगको वर्गीकरणभित्र हालसम्म जम्मा ४१२ उद्योग दर्ता छन् भने खनिजजन्य उद्योगको संख्या पनि कम छ । विभागले यो तथ्यांकमा आर्थिक वर्ष २०५१/५२ देखिको दर्तालाई समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार यस्ता उद्योगले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २२ प्रतिशत योगदान दिएका छन् भने २५ लाखभन्दा बढी व्यवसायी छन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्