
त्रिभुवन विश्वविद्यालयको सोमवार भएको ४७औं दीक्षान्त समारोहमा इलाम नगरपालिका–६ की २४ वर्षीया समीक्षा कार्कीले स्नातकतर्फ स्वर्ण पदक पाइन् । उनले कृषि विज्ञान पढेकी हुन् ।
कार्कीले कृषिमा मात्रै स्वर्ण पाउने व्यवस्था नभएकाले सम्पूर्ण स्नातक नै टप्नु पर्यो ।
‘नेपाल कृषि प्रदान देश भनिन्छ । कृषिको सम्भावना धेरै छ तर यसलाई नै प्राथमिकतामा राखिँदैन,’ समीक्षाले लोकान्तरसँग भनिन्, ‘अब कसरी कृषि क्षेत्र अगाडि बढाउन सरकारले योगदान गर्छ भन्ने विश्वास गर्नु ?’
उनले पुरानो कृषि शैलीलाई परिवर्तन गरेर आधुनिक कृषिमा परिणत गर्न आफूले योगदान गर्ने बताइन् । अहिलेको अवस्थामा कमाउनका लागि विदेशिने युवाहरूको संख्या बढ्दै गएकाले नेपालमा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने देखाउने लक्ष्य रहेको समीक्षाले बताइन् ।

कलेज पढाउँदै गरेका ६२ वर्षीय हेमशंकर शाहले सोमवार विद्यावारिधिबाट दीक्षित भएका छन् । विश्वमा भएका खनिज पदार्थ र वातावरणीय हिसाबले क्षयीकरण हुँदै गएको अवस्थामा त्यसलाई जोगाउन पहल गर्ने योजना रहेको उनले बताए ।
नेपाल भौगोलिक हिसाबले तराई, पहाड र हिमालमा भएका खनिज पदार्थ, जडिबुटीलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ आफूलाई केन्द्रित गर्ने डा. शाहले बताए ।
छोराछोरीले डाक्टर पढेर आफ्नो क्षेत्रमा काम गरिरहेकाले पनि आफूलाई विद्यावारिधि गर्न प्रेरणा मिलेका उनले बताए ।
‘५ जना छोराछोरी सबै डाक्टर भए । भाइहरू पनि डाक्टर छन्, मलाई पनि पीएचडी गर्ने इच्छा तीव्र भएकाले पढ्न शुरू गरेको थिएँ, अहिले खुशी छु,’ शाहले लोकान्तरसँग भने ।
नेपाली विषयमा एमफिल गरेर दीक्षित भएका केदारप्रसाद दाहाललाई नेपाली भाषाको विदेशी हस्तक्षेपले क्षयीकरण भएकाले त्यसलाई जगेर्ना गर्न आफूले एमफिल गरेकाले आगामी दिन त्यसै विषयमा पीएचडी समेत गर्ने योजना बनाएको बताए ।
‘नेपाली भाषामाथि विदेशी भाषाको ठाडो हस्तक्षेप भएको छ । यसलाई सरकारले पनि ध्यान दिएको छैन, त्यसलाई जगेर्ना गर्नका लागि मेरो योगदान रहने छ,’ दाहालले लोकान्तरसँग भने ।

नेपाली भाषालाई विश्वमा चिनाउनका लागि सक्रिय भएको बताउँदै आगामी दिनमा पनि नेपाली भाषामा भएको हस्तक्षेपलाई कम गर्न भूमिका रहने उनले बताए ।
त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले सोमवार केन्द्रीय कार्यालय बल्खुमा एक समारोहबीच ४७औं दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
दीक्षान्त समारोहमा कूलपति प्रधानमन्त्री शेरबहादुर देउवा, उपकूलपति धर्मकान्त बास्तोला र विशेष अतिथिको रूपमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक तथा आधुनिक शिक्षाका वैज्ञानिक प्रा.डा. रामगोपाल रावको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षालाई औपचारिक तथा सैद्धान्तिकभन्दा पनि व्यावहारिक र जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिए । दीक्षित भएको पुस्ताले देशको अर्थतन्त्रमा नयाँ आयाम थप्नेमा विश्वस्थ रहेको उनले बताए ।
उपकूलपति बास्तोलाले २०७२ सालमा गएको भूकम्पमा क्षति भएका विश्वविद्यालयका भौतिक संरचना पुनर्निर्माणमा जोड नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
